September 9, 2024

धौलागिरी अनलाइन बिक्रम पौडेल
बागलुङ — बागलुङ नगरपालिका वडा -१४ मा रहेको बलेवा विमानस्थल  झन्डै ७ सय मिटर लामो कालोपत्र गरिएको छ । २४ मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको यहाँको बलेवा विमानस्थलमा हवाईजहाज आउने पत्तो छैन ।

करोडौं रुपैयाँ खर्चेर बनाएको विमानस्थल अलपत्र जस्तै छ । निर्माणका बेला हतारहतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् । ठेकेदार कम्पनीलाई काम छिटो सक्न नियमित अनुगमन गर्ने नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको मैदानको सदुपयोगबारे चासो देखाएका छैनन् ।

प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले गत जेठमै विमानस्थलमा जहाज अवतरण गराउने बताएका थिए । तर नेतृत्वको चासो नभएको, पहुँच सडक नबनेको लगायत कारणले जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

मालढुंगादेखि १० किमि दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर तीन वर्षदेखि खसेको पहिरोले दुवै सडक अवरुद्ध बनाउने गरेको छ । वर्षाका ३ महिना सडक ठप्पप्रायः हुन्छ । पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘सडक डिभिजनले गर्नुपर्ने काम वर्षायाममा केही गर्दैन, नगरपालिकाले लगानी गरेर यातायात खोले पनि दिगो बन्न सकेको छैन,’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘नगरकै गौरव विमानस्थल चलाउन नसक्दा नमज्जा भएको छ ।’ सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने उनको भनाइ छ ।

सरकारले मालढुंगादेखि बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमि खण्ड कालोपत्र गर्न ठेक्का लगाएको छ । तर यो सडक कहिले कालोपत्रे बन्छ भन्ने यकिन नभएसम्म जहाज चलाउन कठिन हुने श्रेष्ठ बताउँछन् । मालढुंगादेखि गलुवा हुँदै पानीट्यांकीतर्फको कालोपत्रे सडक पनि पहिरोकै कारण नियमित सञ्चालनमा छैन । यात्रीले जोखिम मोलेर यात्रा गर्दै जहाज चढ्न नखोज्ने नगर उपप्रमुख राजु खड्काको भनाइ छ ।

‘विमानस्थल पुग्न ट्याक्सी चढेर जाने चाहना सबैलाई हुन्छ । तर पहिरोले बोलेरो गाडी लैजान पनि सास्ती छ,’ खड्काले भने, ‘मैदान बनेर के गर्नु ? यात्री पुर्‍याउने वातावरण अझै बनेको छैन ।’ सिमानाभित्र भए पनि पहिरो नियन्त्रण, सडक डिभिजनमा सूचीकृत भएको खण्ड पुनर्निर्माण गर्ने तथा कालीगण्डकी करिडोर कालोपत्र गर्ने काम नभएको खड्काले बताए । ‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले गत वर्ष ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्र गरेको हो । ०१६ देखि ०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो विमानस्थलमा ०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा–बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले जनाए । ०७२ सालमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दीनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि सञ्चालन भएको थिएन ।

बागलुङ नगरपालिकाले खाली सिटको भारसमेत बेहोर्ने गरी ०७५ सालमा जहाज चलाएको थियो । साताको दुई दिन चलाएको जहाजबाट घाटा भएको र कच्ची धावनमार्गका कारण जहाज चिप्लने खतरा भएपछि कालोपत्रका लागि पहल भयो । विमानस्थलमा ६ सय २० मिटर लामो पक्की नाली, १ हजार ५ सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपतकालीन गेट बनेको छ । मैदानको सबै भाग १ किमि दूरीको छ । तर हाल झन्डै ७ सय मिटर कालोपत्र गरिएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् । रासस

हाल का तस्बिर हरु

Leave a Reply

Your email address will not be published.