नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोमबार चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मध्यविन्दु नगरपालिका–७ निवासी २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बुद्धिराम महतो र मोटरसाइकल चालक यमबहादुर पौडेल घाइते भएका छन्। दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
एउटै मोटरसाइकलमा तीन जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।