। रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी यमुनामाई नगरपालिका–५, जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएका दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा यमुनामाई नगरपालिका–५, झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला, भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।
एकै दुर्घटनामा दुई किशोरको ज्यान गएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।