नारायणी नदी किनारमा छठ पर्वको रौनक, झिलिमिली बत्तीले थप्यो आकर्षण -

नारायणी नदी किनारमा छठ पर्वको रौनक, झिलिमिली बत्तीले थप्यो आकर्षण

भरतपुर । आकाश आचार्य सूर्यदेवको आराधना र आस्थाको महापर्व छठको अवसरमा चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उत्साह र उल्लास छाएको छ।

छठ पर्वको मुख्य दिनको अवसरमा नारायणी नदी किनारमा भक्तजनहरूको चहलपहल बढेको छ। नदी किनारलाई आकर्षक रूपमा सजाइएको छ भने पुल, घाट र आसपासका क्षेत्रमा झिलिमिली बत्तीले थप आकर्षण बढाएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गर्ने परम्पराअनुसार व्रतालुहरू पूजाका सामग्री, फलफूल तथा प्रसादसहित नदी किनारमा पुग्ने गर्छन्। श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने यस पर्वले नारायणी नदी किनारलाई भक्तिमय वातावरणमा परिणत गरेको छ।

रातको समयमा नारायणी पुल र नदी किनारमा देखिएको झिलिमिली दृश्यले भरतपुरको सौन्दर्यसमेत थप उजागर गरेको छ। नदीमा प्रतिबिम्बित बत्तीका दृश्य र सजावटले छठ पर्वको रौनकलाई अझ आकर्षक बनाएको छ।

विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय देशका विभिन्न स्थानमा पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालिएको छ।

सूर्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरिने छठ पर्वले धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published.