मुस्ताङमा ६० करोड रुपैयाँको स्याउ उत्पादन -

मुस्ताङमा ६० करोड रुपैयाँको स्याउ उत्पादन

हिमाली जिल्ला मुस्ताङ स्याउ उत्पादनका लागि विशेष क्षेत्र मानिन्छ। त्यहाँको स्याउ देशभर प्रख्यात छ। चिसो हावापानी भएको भूगोलमा फल्ने भएकाले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो तर पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आउन थालेको छ।

परियोजना इकाइका सूचना अधिकारी नेत्रप्रसाद भट्टले भदौ पहिलो साता नै दाना टिप्दा स्वाद हराउने गुनासो आएपछि पछिल्लो समय दिन तोकेर टिप्ने गरिएको बताए। यस पटक भदौअन्तिम हप्तादेखि मात्र टिप्ने निर्णय भए बमोजिम किसानले स्याउ टिप्न थालेका थिए– उनले भने। ‘बेला नपुग्दै टिप्दा स्वाद पाइएन भन्ने गुनासो आयो, गुणस्तर कमजोर हुने भएपछि ढिलो गरी मात्र टिप्न थालिएको हो,’ भट्टले भने– ‘कुनै वर्ष त असोज लागेपछि मात्र टिप्ने गरिन्छ। यस पटक चाडबाड अलि अगाडि परेकाले पनि पोहोर भन्दा केही दिन अगाडि टिप्न थालिएको हो। पोहोर असोज पहिलो साता मात्र स्याउ टिप्न दिइएको थियो।  

केहीवर्ष अघिसम्म त्यहाँ भदौको पहिलो सातादेखि नै स्याउ टिप्ने गरिए पनि पछिल्लो समय भने केही ढिलो गरी समय तोकेरै टिप्न थालिएको थियो। यो पटक भदौको अन्तिम सातादेखि स्याउ टिपेर बजारमा पाउने गरी निर्णय गरिएको थियो।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) जोमसोमका अनुसार गुणस्तर कायम गर्न पछिल्लो समय केही ढिला गरी स्याउ टिप्न थालिएको हो। हतार गरेर टिप्दा स्याउको गुलियोपना हराउने गुनासो आएपछि किसान, परियोजना एकाइबीच यो याममा भदौ २५ गतेपछि मात्र दाना टिप्ने निर्णय भएको थियो।

सूचना अधिकारी भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘रोडकिङ’ ब्राण्डको स्याउ भने साउन २५ गते देखिनै टिप्न थालिएको थियो। हाइ डेन्सिटीको गाला र रोडकिङ केही अगाडि नै पाक्ने स्याउका जात हुन्।  

यो पटक करिब ६० करोड रूपैयाँको स्याउ मुस्ताङमा फलेको भट्टको अनुमान छ। किसानले अहिले बगैंचाबाट प्रतिकिलो ८० देखि ९० रूपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। अघिल्लो वर्ष हिमाली जिल्ला मुस्ताङले स्याउ बेचेर करिब ५० करोड रूपैयाँ भिœयाएको थियो। यो पटक उत्पादन बढ्दा आम्दानी पनि थपिने भट्टले जानकारी दिए। ‘सबैतिर स्याउ पाकेर बगैंचा राताम्य भएको छ। यो बेला चहलपहल निकै नै बढेको छ’– उनले भने।

यो पटक स्याउ उत्पादन बढ्नुमा मुख्य दुई वटा कारण रहेका छन्। हिउँदमा हिउँ राम्रो परेको र पानी कम पर्दा स्याउ उत्पादनमा वृद्धि भएको उनले बताए। स्याउका लागि हिउँ पर्नु राम्रो मानिन्छ। पानी बढी पर्दा किरा लाग्ने डर हुन्छ। यो पटक पानी कम परेको र हिउँ बढी पर्दा उत्पादन बढाउन सघाएको उनको भनाइ छ। असोज महिनाभरमा मुस्ताङको स्याउ बोटबाट टिपेर सकिन्छ। करिब ७० प्रतिशत उत्पादन सिजन अनुसार बिक्री हुन्छ। बाँकी ३० प्रतिशत उत्पादन भने कोल्डस्टोरमा पनि राखिन्छ।

स्याउ फुल्ने समय फागुन चैत हो तर पुस माघमा परेको असिनाले पछि फुल्ने स्याउको बोटलाई सिञ्चित गर्न सघाउँछ। हिउँदमा परेको हिउँले लामो समयसम्म जमिनलाई चिस्याइरहने भएकाले त्यसले सिँचाइमा सघाउ पुग्ने उनले सुनाए।  

मुस्ताङको घरपझोङ र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती हुन्छ। समुन्द्री सतहदेखि २२ सय देखि ३२ सय मिटरसम्म स्याउ खेती हुन्छ तर ४ हजार मिटरसम्म पनि स्याउ खेती भने गरिएको छ। माथिल्लो भेगमा भने थोरै मात्रामा खेती हुने गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.