सडक सुरक्षा सचेतना तथा प्रहरी–नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न -

सडक सुरक्षा सचेतना तथा प्रहरी–नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

बिक्रम पौडेल, धौलागिरी अनलाइन,
बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित श्री जनता घन माध्यमिक विद्यालयको राधास्वामी सभाहलमा २०८३ साल वैशाख २० गते सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक सुरक्षा सचेतना कार्यक्रम तथा प्रहरी–नागरिक साझेदारी अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवार, बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री, वडा नं. १३ का वडाध्यक्ष नारायण पौडेल, वडा नं. १२ का वडाध्यक्ष कोपिलामणि शर्मा , स्थानीय बासिन्दा, समाजसेवी, ज्येष्ठ नागरिक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी सामुदायिक” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मदिरा सेवन गरी सवारी साधन नचलाउने तथा पैदलयात्रीको सुरक्षा सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। साथै सडक प्रयोगकर्ताको जिम्मेवारी र सुरक्षित यात्राका उपायबारे सहभागीहरूसँग अन्तरक्रिया समेत गरिएको थियो।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले आफ्नो क्षेत्रमा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आयोजक प्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, स्वीकृत दरबन्दी अनुसार प्रहरी जनशक्ति अझै पर्याप्त रूपमा उपलब्ध हुन नसकेको विषय पनि उठान गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवारले जिल्लाभर १२ वटा स्थायी ट्राफिक चेकपोष्ट सञ्चालनमा रहेको र हाल २९ जना ट्राफिक प्रहरीबाट सेवा प्रदान भइरहेको जानकारी दिनुभयो। उहाँले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
सहभागीहरूले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित सडक प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.