बागलुङ नगरपालिका–१४ नारायणस्थान स्वास्थ्य चौकीको आयोजनामा विद्यालय लक्षित किशोर किशोरीहरूमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरण गर्ने उद्देश्यले पोषण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम बागलुङ नगरपालिका–१४ स्थित धौलागिरी बहुप्राविधिक शिक्षालय, नेपाने टोलमा सञ्चालन गरिएको हो। कार्यक्रममा जोखिम समूहलाई लक्षित गरी पोषण नाङ्लो प्रदर्शन, हरेक भान्साका लागि आवश्यक पोषक तत्वयुक्त खाद्य वस्तुको छनोट तथा प्रदर्शनी गरिएको थियो। साथै सहभागीहरूलाई व्यवहारिक ज्ञानसहित रक्तअल्पतासम्बन्धी स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य शिक्षा प्रदान गरिएको स्वास्थ्य चौकीले जनाएको छ।

कार्यक्रममा किशोरीहरूलाई सन्तुलित आहार, आयरनयुक्त खानेकुराको महत्व, दैनिक खानपानमा पोषक तत्वको समावेश तथा रक्तअल्पताबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। स्थानीय महिला, किशोरी तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा पोषण सुधारमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिइएको थियो।

स्वास्थ्य चौकीले यस्ता सचेतनामूलक कार्यक्रमले किशोर किशोरीहरूमा देखिने कुपोषण तथा रक्तअल्पताको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।