बागलुङ नगरपालिका–४ ढोडेनीका १७ वर्षीय शिव थापा मगरको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो।
शिव थापा मगर आफ्नै घरदेखि करिब ५०० मिटर टाढा, म्याग्दीको बेनी नगरपालिका–१ बेलबोटस्थित शिव मन्दिरको कम्पाउण्डभित्र रहेको काब्रोको रुखमा चढेर घाँस काटिरहेका थिए। त्यही क्रममा घाँसको हाँगा नजिकै रहेको ३३ हजार केभी क्षमताको प्रसारण लाइनको नाङ्गो तारमा छोइएपछि करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई साँझ ५:१५ बजे धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ ल्याइए पनि चिकित्सकले साँझ ६:०० बजे मृत्यु घोषणा गरेका थिए। उपचारका क्रममा आमा माया थापा अस्पतालमा साथमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक केशव थापाको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। हाल मृतकको शव धौलागिरी प्रादेशिक अस्पतालमै राखिएको छ। रासस