बलेवा नारायणस्थानमा तीन सय वर्ष पुरानो लाखे नाच सुरु -

बलेवा नारायणस्थानमा तीन सय वर्ष पुरानो लाखे नाच सुरु

बिक्रम पौडेल, बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेवार समुदायको करिब तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानका रूपमा रहेको लाखे नाच सुरु भएको छ।
नारायणस्थानमा यस वर्षको लाखे नाचको पहिलो दिन विभिन्न सांस्कृतिक प्रस्तुति तथा लाखे नाच प्रदर्शन गरिएको हो। स्थानीय जानकारहरूका अनुसार करिब तीन सय वर्षअघि बनेपा, भक्तपुर, काठमाडौं र ललितपुरलगायतका क्षेत्रबाट आएका नेवार समुदायसँगै नारायणस्थानमा पनि नेवार संस्कृतिको अभिन्न अंग मानिने लाखे नाच भित्रिएको हो।
नारायणस्थानमा हरेक वर्ष नागपञ्चमीदेखि हरितालिका तीजसम्म विभिन्न अवसर तथा मेला–महोत्सवमा लाखे नाच प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ। नेवार समुदायको आयोजना तथा व्यवस्थापनमा यस वर्ष पनि लाखे नाच सुरु गरिएको हो।
परम्पराअनुसार घण्टाकर्ण चतुर्दशीका दिन समाजमा दुःख र विकृति फैलाएको मानिने घण्टाकर्ण नामक दानवको प्रतीकात्मक प्रतिमा कालीगण्डकी नदीको दोभानमा लगेर विसर्जन गरेपछि बर्खे नाचको तयारी सुरु गरिन्छ। त्यसपछि विभिन्न सांस्कृतिक नाच तथा प्रस्तुति प्रदर्शन गर्ने परम्परा रहेको छ।
लाखे नाचमा ठूलाठूला आँखा, दाह्रा र फिँजिएका जगल्टासहितको भयानक स्वरूप प्रस्तुत गरिन्छ। नेवार समुदायमा यसलाई सांस्कृतिक तथा धार्मिक महत्व बोकेको नाचका रूपमा लिइन्छ।
लाखे नाचसँगै बर्खे नाचअन्तर्गत घोडा नाच, नाग–नागिनी नाच, श्रीकृष्ण रथयात्रालगायतका विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा रहेको छ। जनशक्तिको अभावका कारण रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति आवश्यक पर्ने केही नाच भने पछिल्ला वर्षमा नियमित हुन सकेका छैनन्।
नेवार समुदायका अगुवाहरूका अनुसार नेपाल भाषा वंशावलीमा लाखे नाचको सुरुवात राजा गुणकामदेवको पालादेखि भएको उल्लेख पाइन्छ। राजा प्रताप मल्लको पालादेखि मुकुट लगाएर लाखे नाच्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
बर्खे नाचको धार्मिक तथा सांस्कृतिक पक्षसँगै यसले समाजमा असत्यमाथि सत्यको विजयको सन्देश समेत दिने गरेको छ। परम्पराअनुसार हरितालिका तीजको दिन साँझ दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णको शक्तिले बध गरेपछि बर्खे नाचको समापन गरिन्छ। यसलाई भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको द्वापरयुगीन कथासँग जोडेर समेत प्रस्तुत गर्ने गरिन्छ।
नारायणस्थानमा पुस्तौँदेखि चल्दै आएको लाखे नाच पछिल्लो समय नयाँ पुस्ताको सहभागिताले थप जीवन्त बन्दै गएको स्थानीयको भनाइ छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस परम्पराले नेवार समुदायको पहिचान संरक्षणसँगै स्थानीय कला र संस्कृतिको पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
तीन सय वर्ष पुरानो यो सांस्कृतिक परम्परालाई निरन्तरता दिन स्थानीय नेवार समुदायसँगै युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published.