बागलुङ–१४ नारायणस्थानमा बाँदर आतंक, गाउँघरका बस्ती प्रभावित -

बागलुङ–१४ नारायणस्थानमा बाँदर आतंक, गाउँघरका बस्ती प्रभावित

बागलुङ । बिक्रम पौडेल बागलुङ नगरपालिका–१४ नारायणस्थानका गाउँघरमा पछिल्लो समय बाँदर आतंक बढ्दै गएको छ। मानिसको बसोबास घट्दै जाँदा गाउँका कुना–कुनासम्म बाँदरको उपस्थिति बढेको स्थानीयवासीले बताएका छन्।
पहिले जंगल तथा बस्ती आसपासका क्षेत्रमा सीमित देखिने बाँदर अहिले घर–आँगनमै प्रवेश गरेर खाद्यान्न तथा घरायसी सामानमा क्षति पुर्‍याउने गरेको स्थानीयको गुनासो छ। विशेषगरी घरमा वृद्धवृद्धा मात्र रहेका परिवारलाई बाँदरले बढी दुःख दिने गरेको बताइएको छ।
कतिपय अवस्थामा बाँदरले मानिसलाई नै आक्रमण गर्न खोज्ने तथा लखेट्ने गरेको स्थानीयवासीको भनाइ छ। यसका कारण वृद्धवृद्धा तथा बालबालिका घरबाहिर निस्कँदा समेत त्रसित हुने अवस्था सिर्जना भएको छ।
गाउँबाट मानिसहरू बसाइँसराइ गर्दै जाने र खेतीयोग्य जमिन तथा घरबारी खाली हुँदै जाँदा बाँदरको आतंक झन् बढेको स्थानीयको बुझाइ छ। समयमै यसको नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।

Leave a Reply

Your email address will not be published.