धौलागिरी अनलाइन नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज काग तिहार श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ। कागले यमराजसमक्ष शुभ तथा अशुभ समाचार पुर्याउने विश्वासका साथ आजको दिन कागलाई पूजा गरी खानेकुरा अर्पण गर्ने परम्परा रहेको छ।
काग तिहारका दिन बिहानै घरको छत, आँगन तथा खुला स्थानमा कागका लागि खाना राख्ने चलन छ। यस दिन कागलाई सम्मानपूर्वक भोजन गराउँदा घरपरिवारमा सुख, शान्ति र समृद्धि छाउने तथा अनिष्टबाट जोगिने धार्मिक विश्वास रहिआएको छ।
तिहार केवल पूजाआजा र मनोरञ्जनको पर्व मात्र नभई प्रकृति, पशुपक्षी तथा जीवजन्तुप्रति माया, सम्मान र सहअस्तित्वको सन्देश दिने सांस्कृतिक पर्व पनि हो। काग तिहारले मानव जीवनमा सबै जीवप्रति दया, करुणा र सद्भाव राख्नुपर्ने सन्देश दिएको छ।
यसै अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।