धौलागिरी अनलाइन विक्रम पौडेल बागलुङ नगरपालिका-१३ पयुपाटा सडकमा हराएको सामान भेट्दा कतिपयले आफ्नो ठानेर राख्ने गरेको वर्तमान समयमा १११ नम्बरका अटो चालक दीपेन्द्र पाण्डेयले भने मानवता, नैतिकता र इमानदारीको उत्कृष्ट परिचय दिएका छन्।
चालक पाण्डेयले केही रकमसहितको कालो रङको पर्स फेला पारेपछि त्यसमा भएको रकम तथा अन्य सामान आफूसँग राख्नुको सट्टा सम्बन्धित व्यक्तिसम्म पुर्याउने उद्देश्यले वडा कार्यालयमा बुझाएका छन्।
उनले मिति २०८३/०७/१९ गते दिउँसो २:१७ बजे उक्त पर्स वडा कार्यालयमा बुझाएका हुन्। पर्स हराउने व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सामान बुझिलिन अनुरोध गरिएको छ।
वास्तवमा इमानदारी भनेको अरूले नदेखेको समयमा पनि सही काम गर्नु हो। धनसम्पत्ति भन्दा ठूलो मानवीय मूल्य र नैतिकता हो भन्ने कुरा चालक पाण्डेयको यस कार्यले प्रस्ट पारेको छ।
समाजमा यस्ता सकारात्मक कार्यको प्रशंसा र सम्मान हुन आवश्यक छ। एउटा सानो इमानदार व्यवहारले पनि समाजमा ठूलो सकारात्मक सन्देश दिन सक्छ।
आफूले नभेटाएको सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने सोच र व्यवहार आफैँमा प्रशंसनीय छ।
१११ नम्बरका अटो चालक दीपेन्द्र पाण्डेय भाइलाई यो उदाहरणीय कार्यका लागि हार्दिक धन्यवाद तथा उच्च सम्मान।
मानवता हराएको छैन, इमानदारी अझै बाँकी छ। यस्ता चालक र यस्ता असल नागरिक नै समाजका वास्तविक गहना हुन्।