बागलुङ, नारायणस्थान। बिक्रम पौडेल बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित सरस्वती मन्दिर तथा शिवालय मन्दिरमा चौथो बृहत् बालाचतुर्दशी मेला–२०८३ आयोजना हुने भएको छ।
सरस्वती मन्दिर तथा शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंसिर २० र २१ गते दुई दिनसम्म मेला सञ्चालन हुन लागेको हो।
मेलाको पहिलो दिन मंसिर २० गते बिहानदेखि पूजाआजा, कथा प्रवचन तथा शतबीज छर्ने कार्यक्रम सञ्चालन हुनेछ। त्यसैगरी दोस्रो दिन मंसिर २१ गते भजन प्रतियोगितासहित स्थानीय सांस्कृतिक तथा परम्परागत कला प्रदर्शनीका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
भजन तथा कीर्तन संस्कृतिको संरक्षण, स्थानीय कलाकारको प्रतिभा पहिचान र नयाँ पुस्तामा मौलिक धर्म, संस्कृति तथा परम्पराप्रति आकर्षण बढाउने उद्देश्यले भजन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा सहभागी समूहहरूको स्वर तथा सुरको शुद्धता, ताल तथा लय, शब्द उच्चारण तथा भाव प्रस्तुति, भक्तिभाव, मौलिकता, समूह समन्वय र प्रस्तुति शैलीका आधारमा मूल्यांकन गरिनेछ।
कार्यक्रममा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वाससहित आयोजना हुन लागेको मेलामा सम्पूर्ण भक्तजन, स्थानीयवासी, भजन समूह, कलाकार तथा धर्मप्रेमी महानुभावलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
आयोजक: सरस्वती मन्दिर तथा शिवालय मन्दिर व्यवस्थापन समिति, बागलुङ नगरपालिका–१४, नारायणस्थान।