बागलुङ, २९ असार –
युक्त प्रसाद सुबेदी, आदिकवि भानुभक्त आचार्यको २ सय १२ औ जन्म जयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, बिद्यामन्दिर पुस्तकालय, सार्थक प्रकाशन र स्मृति प्रकाशन बागलुङकाे संयुक्त आयाेजनामा भानुजयन्ती मनाएका हाे । सो अवसरमा नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानकाे विषयमा चर्चा, श्रष्टाहरुकाे सिर्जना वाचन तथा भानुचित्र लेखन प्रतियाेगिता कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सर्जक धनराज सापकोटा जिज्ञासुले भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानकाे बारेमा बताउनु भएको थियो । त्यसैगरि सर्जकहरु युक्त प्रसमद सुवेदी, रामचन्द्र शर्मा, धनराज सापकोटा जिज्ञासु, युक्तजङ्ग राजभण्डारी, केशवराज रेग्मी, चन्द्रसुर्य, नरम पौडेल र कोपीला कँडेलले कविता, गजल, मुक्तक लगायतका आ-आफ्ना सिर्जनाहरु वाचन गर्नुभएको थियो । १२ जना सहभागी भानु चित्र लेखन प्रतियाेगिता कार्यक्रममा बाल प्रतिभा प्रस्ताव बरालकाे चित्र उत्कृष्ट घाेषणा गरिएकाे थियाे ।
उक्त कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनले साहित्यलाई जिवन्त बनाउनका लागि सर्जकहरु निरन्तर क्रियासिल हुनुपर्ने बताउनुभयो । भाषा कला र साहित्यको उथ्थान हुन सकेमात्र भानुभक्तका प्रति सच्चा सम्मान हुने उहाँको भनाई थियो ।
बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार ईश्वर मलेपति श्रेष्ठले साहित्यकारले आफ्नो कलम मार्फत समाज लाई सुशुचित गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सार्थक प्रकाशन बागलुङका अध्यक्ष युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।