धौलागिरी अनलाइन | बागलुङ
बिक्रम पौडेल बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवस्थित डुङ्गाचौर सामुदायिक वन क्षेत्रभित्र रहेको सरस्वती ब्लकअन्तर्गत सरस्वती मन्दिर तथा शिवालय मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्यले तीव्रता लिएको छ।
यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित १०८ शिवलिङ्ग स्थापना गर्न लागिएको हो। हाल उक्त क्षेत्रमा सरस्वती मन्दिर र शिवालय मन्दिर रहेका छन्। धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा प्रत्येक वर्ष बालाचतुर्दशीको अवसरमा मेला समेत आयोजना हुँदै आएको छ।

१०८ शिवलिङ्ग स्थापना भएपछि यस क्षेत्रको धार्मिक महत्त्व थप बढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। मन्दिर परिसरलाई व्यवस्थित गर्दै धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

शिवलिङ्ग स्थापना गर्न इच्छुक श्रद्धालु तथा व्यक्तिहरूलाई मन्दिर व्यवस्थापन समितिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। इच्छुक व्यक्तिले आफ्नो नाममा शिवलिङ्ग स्थापना गरी शिलालेखमा आफ्नो नाम समेत राख्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

धार्मिक आस्था र पर्यटनको सम्भावना बोकेको डुङ्गाचौर क्षेत्रको विकासका लागि स्थानीयवासी, श्रद्धालु तथा सरोकारवालाको सहयोग र सहभागिता आवश्यक रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।