बागलुङ नगरपालिका वडा नं. १४ मा मिति २०८२ साल पौष २२ गते सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक कार्यालय, बागलुङको आयोजनामा ट्राफिक प्रहरी प्रकाश तिमिल्सिना को उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, ज्येष्ठ नागरिक तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउने, पैदलयात्रीको सुरक्षा लगायतका विषयमा जानकारी दिइएको थियो। साथै, सडक प्रयोगकर्ताको जिम्मेवारी र सुरक्षित यात्राका उपायबारे सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो।
आयोजक जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिले पछिल्लो समय सडक दुर्घटनाको संख्या बढ्दै गएको सन्दर्भमा समुदायस्तरमै सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

सहभागीहरूले पनि कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले सुरक्षित सडक प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ट्राफिक नियम पालना सबैको साझा जिम्मेवारी भएको धारणा राखेका थिए।