नेपाली को सपना अमेरिकीमा

विदेशी भूमिमा बसेर जीवन बिताउनु भनेको बेफुर्सदी जीवन बाँच्नु हो, काम, काम, कामबाहेक अर्थोकमा समय दिनै भ्याइँदैन भनेर कमाउन र व्यस्ततामै रमाउनेको कमी छैन । देशबाहिर बसेर पनि देश चिनाउने काममा लागेर समय बिताउने पनि छन् । अरूण रुपाखेती अमेरिकाको भर्जिनियामा बसेर आफूमात्र चिनिनुभएको छैन देश र संस्कृति चिनाउन पनि लागिपर्नुभएको छ । धादिङबाट पढ्नका लागि र केही गर्छु भन्ने उत्साह बोकेर तीसको दशकमा काठमाडौँ टेकेपछि उहाँका दुःख र सङ्घर्षका दिन सुरु भएका थिए । गाउँबाट बाबुआमाले पठाएको खर्चले धानेको जीवनसँगै अरुणले पढाइसँगै विद्यार्थी जीवनमै समाजसेवामा रुचि देखाइसक्नुभएको थियो । विश्व निकेतन विद्यालयमा पढ्दा नै जुनियर रेडक्रसको अध्यक्ष भएर समाजसेवामा अघि सर्ने उहाँ पछिसम्म पनि यसैमा रमाउन थाल्नुभयो । धादिङ छाडेर काठमाडौँ आइपुग्दा अरुण रुपाखेतीमा कम्मर कसेर केही गर्छु भन्ने उत्साह थियो । बाबुआमाको साथ छाडेर पढ्नका लागि काठमाडौँ आएको उहाँले पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि आफूलाई केन्द्रित गर्नुभयो । विद्यार्थी उमेरमै समाजसेवामा लागेर हिँड्ने सोख नै अहिलेको परिचय बन्न पुग्यो । समाजसेवासँगै सरकारी जागिरको १७ वर्षे अनुभव सँगालेर सन् १९९६ मा अमेरिका टेकेकोे पाइला त्यतै अडियो । अर्काको भूमिमा शरीर टेके पनि मन नेपालमै थियो । अमेरिका टेकेपछि आफ्नो संस्कृति नासिँदै गएका, एकाध मान्छेमा मात्र यसप्रति रुचि भएको देखर केही गरौँ भन्ने सल्लाहले अघि बढ्नुभएको हो उहाँ ।
दुःख, कष्ट र सङ्घर्षले खारिँदै अघि बढेको जीवन अहिले सुखद छ, साथै जोडिएको आफ्नै परिचयले अमेरिकी भूमिमा अरूण रुपाखेतीले आफूलाई मात्र चिनाउनुभएको छैन, आफ्नो देश र संस्कृतिलाई पनि चिनाउने काम गर्नुभएको छ । उहाँको कर्ममा उहाँका साथीभाइलगायत पत्नी अजिता रुपाखेतीको पनि त्यत्तिकै भूमिका छ । उहाँ भन्नुहुन्छ– उहाँहरूको साथ सहयोग नहुँदो हो त म कसरी यो विशाल भूमिमा अघि बढ्न सक्थेँ र ?
समय सधैँ कहाँ एकनास रहन्छ र ? अमेरिकामा दुःख गरेर कमाउने धेरै छन्, अरूका लागि गर्ने र संस्कृतिका लागि अघि सर्ने कम छन् । अरुण रुपाखेतीले नेपालीको साझा थलो नेपाली–अमेरिकन सामुदायिक केन्द्र बनाउने योजना अघि सार्दै २०१९ मा वाचन शिरोमणि दीनबन्धु पोखरेललाई अमेरिका निम्ताएर डीसीमा महापुराण लगाउनुमात्र भएन, त्यतिबेलै २२ लाख अमेरिकी डलर सङ्कलन गर्नुभयो । आफू र आफ्ना परिवारका तर्फबाट ६० लाख रुपियाँ दान दिएर आफैँले थालेको अनुष्ठानमा ठूलै चरु हाल्नुभयो । १७ लाख डलरको सामुदायिक भवन किनेर अहिले त्यसैको मर्मत–सम्भारमा लाग्नुभएको छ । यस्ता कार्यमा प्रेरित गर्ने अग्रज साहित्यकार चारुशिला मिश्र, दाजुभाउजू प्रदीपराज मिश्र, निरजा मिश्र, उज्ज्वल भट्टराई, गुरु राजेन्द्र खनालको गुन सम्झनुभएको छ । यतिखेर अमेरिकामा सामुदायिक भवनसँगै अरुणको पनि चर्चा हुने गरेको छ । त्यसो त देश छाडेर विदेश गएपछि अरुणले आफ्नो संस्कृति, भाषा–साहित्यलाई बिर्सिन सक्नुभएन । भर्जिनियास्थित आफ्नै घरको प्राङ्गणमा बसेर उहाँ विगत उधिन्न थाल्नुहुन्छ– अमेरिका आएको एक दशक त संस्कृति र भाषासाहित्यको क्षेत्रमा चाहेर पनि सक्रिय हुन सकिएन । साथीभाइ बरु यसैमा लागिपरे । अमेरिकाको भर्जिनियास्थित सेन्टरभिलमा दुई दशकदेखि बसोवास गर्दै आउनुभएका अरूणको संयोजनमा हरेक वर्षको दसैँमा उत्सव मनाइन्छ, जमरा बाँडिन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा आफ्नै घरमा सयौँको सङ्ख्यामा नेपाली भेला गरेर डोरो बाँधेर क्वाँटी बाँड्दैै आउनुभएको छ । नागपञ्चमी, तीज मनाउने, देउसी–भैलो खेल्ने काम अमेरिकामा बसेर गर्न पनि उहाँ पछि पर्नुभएन । सन् २०१० मा डीसी नेपाली समाजको स्थापना गरी त्यसको अध्यक्ष भई एक दशकदेखि थालिएको कामलाई निरन्तरता दिँदै उहाँ डीसी मेट्रोमा मन्दिर बनाउन पनि त्यत्तिकै उत्साह र सक्रिय बन्नुभएको छ । भर्खरै नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)मा बोर्ड अफ ट्रस्टी अध्यक्षमा निर्वाचित उहाँ आफू सधैँ नेपाली संस्कृति परम्पराको रक्षा गर्न लागिपरेको बताउनुहुन्छ ।
यो सोचचाहिँ कसरी आयो ?
सुरुमा त आफ्नै घरमा दुई÷तीन हजार मान्छे जम्मा गरेर चाडपर्व मनाउँथे, अमेरिकाजस्तो ठाउँमा यत्रा मान्छे एकैठाउँ भेला गर्दा कानुनी झमेला आइपर्ला भन्ने डर थियो । धान्न पनि कठिन हुने देखेर सामुदायिक भवन बनाउने सोच आएको हो । एकै समयमा हुल गर्नुभन्दा बिहानदेखि बेलुकीसम्मको समय मिलाएर मान्छे भेला हुन्थे । एकपटक त शङ्ख बजेको सुनेर छिमेकीले प्रहरीमा खबर गरेछ, प्रहरीलाई हाम्रो धर्म संस्कृति हो भनेर बुझाएपछि केही छैन भन्दै फर्किए ।
अमेरिकाको भर्जिनियास्थित उहाँकै घरमा पाइला टेक्दा कुनै धार्मिक स्थलमा टेकेको भान भएको थियो बुबाआमा, पत्नी, दुई छोरा र एउटी बहिनीका साथ बस्दै आएका अरुण जीवन बाँच्ने मेसोका रूपमा बालबालिकाका लागि काम गर्नुहुन्छ । कामबाट बचेको समय नै हो उहाँले धर्मसंस्कृति, भाषासाहित्यका लागि दिने । यता केही वर्षदेखि मन्दिर बनाएर हाम्रा चाडपर्व, बिहे, व्रतबन्ध, अनुष्ठान आदि गर्न मिल्ने विशाल मन्दिरसहितको सामुदायिक भवन निर्माणमा उहाँको ध्यान केन्द्रित भएको छ । अमेरिकामा विशेषगरी भारतीयले ठुल्ठूला र आकर्षक मन्दिर बन(ाएको देख्दा अरुणलाई हामी नेपालीले पनि यस्तै मन्दिर किन नबनाउने भन्ने प्रेरणा जाग्यो र आफैँ नेतृत्व लिएर यसको निर्माणमा हौसिनुभएको हो । उहाँको यो जाँगरले कहिले मूर्त रूप लिने हो कुन्नि ?
विक्रम संवत् २०२० मा धादिङको पिडामा जन्मिनुभएका अरुण रुपाखेती छ दशकको उमेर टेक्नै लाग्दा पनि थकान र निराशाबाट टाढै । शरीर र खर्चले धानेसम्म काममा अघि सरिहाल्ने प्रवृत्ति केटाकेटी अवस्थादेखि गरेको सङ््घर्ष र अमेरिकामा भोगेका आरम्भिक दिनका दुःखले दृढ बनाएको हुनुपर्छ । अमेरिकाजस्तो ठाउँमा बसेर समाजसेवा र संस्कृति जोगाउने जाँगर र समय कसरी मिल्छ ?
नौ दशक उमेर टेक्न लाग्नुभएका बुवा र आठ दशककी आमाका साथ छजनाको परिवार पाल्न र जीवन चलाउन पक्कै पनि कठिनै छ । समाजसेवामा लाग्दा बेलाबखत आइपर्ने समस्या र आरोप उहाँमाथि पनि आएका छन् । म जिज्ञासा राख्छु यसबारेमा । दुःख खेपेर सुखका दिन देखिसक्नुभएका अरुण सहज बनिदिनुहुन्छ– यस्ता सामाजिक कार्य गर्दा जनविश्वास र आफूले गर्न खोजेको कामबारे अरूलाई बुझाउन सामथ्र्य हुनुपर्ने रहेछ । नेपालको सम्पूर्ण जातजाति, भाषाभाषी र संस्कार र संस्कृतिलाई समेट्दै सबै एकै थलोमा बसेर मनाउने उद्देश्यले नै सामुदायिक केन्द्रको स्थापना भएको हो । यस्ता कार्य गर्दै जाँदा कहिलेकाहीँ भिन्न विचार र राजनीतिक मतभेदका कारण केही समस्या आइपर्नु स्वाभाविकै हो, सामान्य हो । अर्को कुरा मैले केही गर्छु भनेर यो क्षेत्रमा लागेको हुँ, कमाउँछु भनेर लागेको होइन, कमाउने भए त ६० लाख रुपियाँ चन्दा दिन किन अघि सर्थे ?
समाजसेवाको नाममा कमाउन थाल्यो भन्नेहरू पनि नभएका होइनन् । तर, अरुणको यात्रा निरन्तर चलिरहेको छ । दुःख र सङ्घर्षले खारिएको र किशोरावस्थादेखि नै केही गरौँ भन्ने उत्साहले अघि बढेको उहाँ हतोत्साही पटक्कै हुनुहुन्न । अमेरिकामा बसेर साहित्य, संस्कृतिको क्षेत्रमा केही गरौँ भन्ने उत्साहले अघि बढ्ने उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डीसी च्याप्टरका अध्यक्ष भएर पनि साहित्यमा आफ्नो सक्रियता देखाइरहनुभएको छ । बेलाबखत देशभित्र र बाहिरका पत्रपत्रिकामा कविता र विचार प्रस्तुत गरे पनि यतिखेर उहाँ आफ्ना छापिएका र छापिन बाँकी कवितासङ्ग्रहको तयारीमा लाग्नुभएको छ ।
घरको अघिल्तिर नेपाल र अमेरिकाको झन्डा फहराएको हेर्दै आँगन छिरेपछि नेपाली माटोको सुवास छरिएजस्तै अनुभूति सँगाल्दै हामी संवादक्रम अघि बढाउँछौँ– उहाँ थप्दै जानुहुन्छ– मानिस जतिसुकै सुख दुःख भोग्न परे पनि आफ्नो भाषा–संस्कृतिबाट टाढिन सक्दो रहेनछ । कला–साहित्य, संस्कृति–चाडपर्वले नै रहेछ हामीलाई जोड्ने । अहिले म सबैको सहयोग लिएर यसैमा लागिपरेको हुँ । मेरो सोखले, भित्री इच्छाले डो¥याएका पाइलालाई मैले नरोक्ने प्रण गरेको छु, त्यसमा पनि अमेरिका र नेपालमा रहेका आफन्त, इष्टमित्रको साथ र सहयोग मेरा लागि निरन्तर अघि बढ्ने प्रेरणा बनेको छ ।
अरुणको घरबाट हामी बसेको कलपेपर फर्कन पर्ने सम्झेर मसँगै यात्रारत मित्र सुमनध्वज विष्टको साथ लागेर फर्कने सुर कस्छौँ, अरुण रुपाखेती उत्साही भएर भन्नुहुन्छ– हेरौँ सबैको साथ–सहयोग र भगवान्को कृपा भयो भने अर्कोपटक अमेरिका आउँदा सायद नेपाली–अमेरिकन सामुदायिक केन्द्रसहितको विशाल मन्दिरमा हाम्रो भेट हुनेछ । उहाँले सोचेको सपना उहाँकै अग्रसरतामा सहयोगी हातहरूको सहयोग र अग्रजको साथका साथ पूरा होस् भन्ने कामनासहित हामी छुट्टिन्छौँ । स्रोत गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *