धौलागिरी अनलाइन बागलुङ सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अर्घाखाँची एउटा सुन्दर पहाडी जिल्ला हो । अर्घा र खाँची दुई पुराना चौबीसे राज्य हुन । दुबैलाई मिलाएर अर्घाखाँची नामाकरण गरिएको हो । प्राकृतिक दृष्टिले सुन्दर छ यो जिल्ला । पर्यटकीय स्थलहरू पनि धेरैछन् । सुपा देउराली, ठाडादह, उलुक महाराजको क्षेत्र र पाणिनी ऋषिको तपोभूमि पणेना अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य हुन । तीमध्ये अहिले लोकमा सुपा देउराली मन्दिरको महिमा निकै फैलिएको छ । अर्घाखाँचीमा मात्र नभई पश्चिम नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार भईरहेको छ । स्वदेशका विभिन्न भाग र छिमेकी देश भारतका विभिन्न भागबाट समेत मानिसहरू पूजा अर्चना गर्न सुपा देउराली पुग्ने गर्दछन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलबस्तुको गोरुसिङ्गेबाट ४६ किलोमिटर उत्तरमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिकाको दोसाँधमा अवस्थित खाँचीकोटमा सुपा देउराली मन्दिर रहेको छ । गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा यो मन्दिर रहेको र पक्की सडक भएकाले आवतजावत गर्न सजिलो छ । यसको महिमा गुल्मी र अर्घाखाँची जिल्लामा निकै फैलिएको छ । गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा सुपादेउराली मन्दिरका शाखा मन्दिरहरू स्थापना गरिएका छन् । कपिलबस्तु जिल्लाको पिपरामा समेत शाखा मन्दिर स्थापना गरिएको छ । यही सुपादेउराली मन्दिरको फैलिदोँ महिमाका कारण खाँचीकोट र नरपानी डाँडामा सानोतिनो बजार नै विकास भएको छ । पर्यटकीय पूर्वाधार सडक, होटल तथा रेष्टुरेन्ट एवं रिसोर्टहरू स्थापना गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । नरपानी डाँडामा राम्रैसँग पर्यटकीय पूर्वाधारहरू विकास भएका छन् । शितल हावापानी पाइने नरपानी आफैमा एउटा सुन्दर डाँडा हो । यहाँबाट डाँडाकाँडा र प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइन्छ । शितल हावापानी भएकोले सुपादेउराली देवीको दर्शन गरी शितलताको आनन्द लिन नेपालको तराईका विभिन्न भाग र भारतबाट समेत गर्मी मौसममा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।
सुपादेउराली मन्दिर ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैका आधारमा सञ्चालित छ । सुपादेउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताएको किम्बदन्ती अनुसार वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएकी थिइन । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो बिवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो । एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरीदिइएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भईन । त्यसपछि त्यहाँ देवीको पुजाद्वारा अर्चना गर्न शुरु गरियो ।
सँस्कृतिविद राजेन्द्र आचार्यले बताएको अर्को ऐतिहासिक प्रमाण अनुसार खाँचीका राजा ध्वजन शाहको छोरी लिलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजबंशको बंशावली टिप्पन अनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लिलावती सानैदेखि एकान्तप्रिय र बैरागी जस्ती एवं देवी देवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन । उनको विवाह हालको गण्डकी प्रदेश अन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छा विपरित गरिदिइएको थियो । उनले अभिभावकसँग मेरो विवाह नगरीदिनुहोस् सिद्ध भएर बस्छु भनेकी थिइन । उनी गोर्खामा विवाह भएर रानी बनेपनि राजकाजमा भन्दा देवी देवताको पूजा प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भईन । देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भईन । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भईन । पछि यसले किम्बदन्तीको रूप लियो । यिनलाई जगदम्बा देवीको रूपमा मानिन्छ । ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैलाई केलाउँदा सुपादेउराली मन्दिर १७ औं शताब्दीदेखि प्रचलनमा आएको मान्न सकिन्छ । किम्बदन्ती अनुसार १६१९ लाई आधार मान्दा यो ४ सय ६१ वर्ष पुरानो मन्दिर हुन आउँछ । अर्घाखाँचीको सुपा देउराली र गोर्खाको मनकामना मन्दिर विचको अन्तर सम्बन्ध केलाउन मनकामना मन्दिरमा विगत ५४ वर्षदेखि मूल पुजारीको रूपमा कार्यरत इन्सान थापालाई मनकामना मन्दिर कहिलेदेखि प्रचलनमा आएको हो भनि मैले सोधेँ । थापाले मनकामना मन्दिरबारे लेखिएका स्रोत सामग्रीका आधारमा यो करीब ३०० वर्ष पुरानो मन्दिर हो भने । थापाले राम शाहकी रानी लिलावती राम शाहको देहावसानपछि सति गएको र त्यसपछि मनकामना देवीको रूपमा प्रकट भएको कुरा पनि बताए । सँस्कृतीविद राजेन्द्र आचार्यका अनुसार राजा राम शाह वि.सं. १६६१ मा गोर्खाका राजा बनेका थिए । यसरी उक्त दुई मन्दिर प्रचलनमा आएको समयावधी फरक देखिएपनि राम शाहको रानी लिलावती भएको र उनै लिलावती देवीको रूपमा प्रकट भएको कुरा मिल्न जान्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । त्यस्तै अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । मनकामना मन्दिरमा बलीको रूपमा बोका, राँगा, हाँस, कुखुरा अर्पण गरिन्छ । सुपा देउरालीमा भने पहिले कालो पाठीको चलन थियो । अहिले पाठो, पाठी, भेँडा, कुखुरा अर्पण गरिन्छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले सुपा देउराली र मनकामना मन्दिरवीचको अन्तर सम्बन्धबारे ज्ञान नभएको बताए भने सुपा देउराली मन्दिरका अध्यक्ष फर्सबहादुर केसीले यहाँको ठकुरी बंशावलीमा मनकामना मन्दिर र सुपादेउराली मन्दिरबीच अन्तर सम्बन्ध भएको कुरा आए पनि किम्बदन्ती र बंशावली बाझिएको धारणा राखे ।
सुपा देउराली मन्दिरमा असोजदेखि मङ्सिर महिनासम्म पूजाका लागि निकै भिड लाग्छ । यो मौसममा दैनिक ७ हजार जनासम्म भक्तजन आउँछन् । बढीमा मासिक २२ लाख रूपैयाँसम्म आम्दानी भएको तथ्याङ्क छ । सुपादउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगङ्गा नगरपालिकाको सिता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रमा मासिक १ लाख १२ हजार रूपैयाँ छुट्टयाइन्छ । स्वास्थ्य तर्फ सन्धिखर्क नगरपालिका अन्तर्गतको खाँचीकोट स्वास्थ्य चौकीमा एकजना स्वास्थ्य सहायक (अहेव) को व्यवस्था गरिएको छ । सन्धिखर्कमा गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । देशभरका दीर्घ रोगीहरूलाई रु. ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिन्छ । दैनिक ७ जनासम्म दीर्घ रोगीले यो सुविधा लिइरहेका छन् । हजारौँ सङ्ख्यामा दीर्घ रोगीहरूले आर्थिक सहयोग प्राप्त गरीसकेका छन् ।यसरी सुपा देउराली मन्दिर पश्चिम नेपालमा एक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन हुँदै गइरहेको छ । यसले धार्मिक र सामाजिक दुबै क्षेत्रमा योगदान दिईरहेको छ । एउटा सानो मन्दिरले यति धेरै महत्वपूर्ण सामाजिक योगदान दिएको छ । हाम्रो मुलुकका ठूला मन्दिरहरू काठमाण्डौको पशुपतिनाथ, लुम्बिनीको मायादेवी, रिडीको ऋषिकेशव, पाल्पाको भैरवस्थान, धरानको बराह क्षेत्र, मुस्ताङको मुक्तिनाथ र गोर्खाको मनकामना मन्दिरले पनि यस्तै सामाजिक क्षेत्रमा योगदान दिएको सुन्न, देख्न र लेख्न मन छ । रासस