जैमिनी नगरपालिकाका तीन वटा वडाहरू एकैसाथ “बालमैत्री स्थानीय शासनयुक्त वडा” घोषणा भएका छन्। जैमिनी नगरपालिका–३ माथिल्लो दमेक, जैमिनी–२ तल्लो दमेक तथा जैमिनी–६ अर्जेवा भव्य कार्यक्रमका बीच बालमैत्री वडा घोषणा भएका हुन्।
घोषणा कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, शिक्षक, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा समग्र विकासका लागि बालमैत्री वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए।

तीनवटै वडाले बालबालिकाको संरक्षण, सहभागिता, विकास र सम्मान सुनिश्चित गर्न आवश्यक सूचकहरू पूरा गर्दै बालमैत्री स्थानीय शासनको मापदण्ड हासिल गरेका हुन्। कार्यक्रममा सहभागीहरूले यो अभियानलाई केवल घोषणा कार्यक्रममा सीमित नराखी आगामी दिनमा समेत यसको दिगोपन कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

यस अवसरमा तीनवटै वडावासीलाई मुरीमुरी बधाई दिँदै बालबालिकाको उज्ज्वल भविष्य, सभ्य समाज निर्माण तथा सुसंस्कृत जीवन पद्धतिको विकासका लागि शुभकामना व्यक्त गरिएको छ। साथै यस पवित्र महाअभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति, संघसंस्था र सरोकारवालाप्रति आभार तथा साधुवाद व्यक्त गरिएको छ।