
माघ १८ धौलागिरी अनलाइन पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ४ बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु अन्य १३ जना घाइते भएका छन् ।
चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउको कल्भर्टमा पल्टिएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको दुर्घटना हुँदा चितवनको भरतपुर महानगरपालिका २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको उनले बताए । दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
भानु नगरपालिका–५ का ३५ वर्षीय बस चालक रवीन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै आँबुखैरेनी गाउँपालिका–३ का ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ । थापाको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए । अन्य १२ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस