
माघ २१ धौलागिरी अनलाइन प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।
देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।
श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आइतबार बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। सोमबार स्वयम्भुको सरस्वती मनदिरमा पनि पूजाआजासँगै अक्षरारम्भ गराइएको छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।