पर्सा (वीरगंज), २४ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा वीरगंजस्थित मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान गर्नु भएको छ ।
आज बिहान वीरगंज पुग्नु भई उहाँले मुस्लिम धर्मावलम्बीहरूसँग बकर इद (इद–उल–अजहा) पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्नु भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
उहाँले इदको अवसरमा मुस्लिम समुदायको मौलिक परम्परा र धर्मावलम्बीप्रति सम्मान व्यक्त गर्नु हुँदै देशको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता अझ सुदृढ होस् भन्ने कामना व्यक्त गर्नु भएको थियो ।
“हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताले भरिएको छ,” मन्त्री यादवले भन्नुभयो, “बकर इद जस्ता पर्वहरूले हामीबीचको आत्मीयता, सहिष्णुता र भाइचाराको सम्बन्ध झनै प्रगाढ बनाउँछ ।”
बकर इद, जसलाई इद–उल–अजहा पनि भनिन्छ, मुस्लिम समुदायले रमजान पर्वपछि ७० औँ दिनमा मनाउने परम्परा छ । यो पर्वको दिन बिहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा रहेको छ । नमाजपछि एक–आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गरिन्छ ।
वीरगंजको विभिन्न मस्जिद र इदगाह क्षेत्रमा आज बिहानैदेखि धार्मिक उल्लाससाथ नमाज अदा गरिएको थियो । बकर इद (इद–उल–अजहा) को अवसरमा मन्त्री यादवको उपस्थिति मुस्लिम समुदायप्रति सरकारको सम्मान र सहभागिताको प्रतीकका रूपमा लिइएको मुस्लिम समुदायहरुले बताउनु भएको छ ।