पर्वत जिल्लाको फलेवास नगरपालिका अन्तर्गत एकोहोरेपाठास्थित दोबिल्ला–फलेवास सडक खण्डमा शुक्रबार दिउँसो करिब २:३० बजे ग १ त ७२७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा कुश्मा नगरपालिका–७ निवासी अन्दाजी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकलचोक निवासी अन्दाजी १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा चिकित्सकले अपराह्न ४:२० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा दुवै खुट्टामा चोट लागेर घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा १२ जना र सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी निरीक्षक पर्वतराज खड्काको नेतृत्वमा १५ जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।