नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण -

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

काठमाडौं । चिकित्सा तथा नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक र बिरामी–केन्द्रित बनाउन नेपाल मेडिकल कलेजले अनुकरण (Simulation) शिक्षण विधिलाई प्राथमिकता दिन थालेको छ । यही उद्देश्यका साथ नेपाल मेडिकल कलेजमा अध्ययनरत बीएससी नर्सिङ दोस्रो वर्ष (१३औँ ब्याच) का विद्यार्थीहरूका लागि ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

लेक्चरर पूजा प्रकाशको निरीक्षण तथा सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा प्रि–हस्पिटल तथा आकस्मिक (Emergency) विभागमा बिरामीको अवस्था अनुसार गरिने ट्रायेज (Triage) प्रक्रिया, विभिन्न तहका नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका र आपसी समन्वयका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले अस्पतालको वास्तविक वातावरणलाई अनुकरण गर्दै आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, उपचार व्यवस्थापन तथा टोलीगत समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेका थिए । यसले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण सहयोग पुगेको प्रशिक्षक पुजा प्रकाशकाे भनाइ छ ।

लेक्चरर पुजा प्रकाशका अनुसार परम्परागत व्याख्यान (Lecture) विधिबाट मात्र अध्ययन गर्दा विद्यार्थीले विषयवस्तु सम्झन र व्यवहारमा उतार्न कठिनाइ हुन सक्छ । तर सिमुलेसनमार्फत सिकाइ गर्दा अस्पतालमा ड्युटीका क्रममा आत्मविश्वासका साथ काम गर्न सक्ने, परीक्षामा विषयवस्तु स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने तथा लामो समयसम्म ज्ञान स्मरण रहने लाभ प्राप्त हुन्छ ।

स्वास्थ्य सेवामा दिनप्रतिदिन देखिएको जनसांख्यिकीय परिवर्तन, औसत आयु वृद्धि, नयाँ प्रविधिको प्रयोग, प्रमाणमा आधारित उपचार प्रणाली तथा अनुसन्धानमुखी अभ्यासले चिकित्सा शिक्षालाई अझ चुनौतीपूर्ण बनाएको छ । यस्ता चुनौती सामना गर्न सक्षम, दक्ष र व्यावसायिक स्वास्थ्य जनशक्ति उत्पादन गर्न शिक्षण प्रणालीलाई पनि समयानुकूल बनाउनु आवश्यक छ । यसका लागि व्याख्यानसँगै स्किल डेमोन्स्ट्रेसन, रोल प्ले, परियोजनामा आधारित अध्ययन, प्रमाणमा आधारित अभ्यास, ड्रिल तथा सिमुलेसन जस्ता आधुनिक शिक्षण विधिलाई पाठ्यक्रममा समावेश गर्नु आजको आवश्यकता बनेको छ ।

सिमुलेसन शिक्षण विधि भनेको वास्तविक अस्पताल तथा बिरामीको अवस्थाको नक्कल गरी सुरक्षित वातावरणमा विद्यार्थीलाई अभ्यास गराउने प्रक्रिया हो । यसले वास्तविक बिरामीमा प्रत्यक्ष अभ्यास गर्नुअघि विद्यार्थीलाई आवश्यक सीप, निर्णय क्षमता, सञ्चार कौशल तथा टोलीगत कार्यशैली विकास गर्न सहयोग पुर्‍याउँछ । साथै, दुर्लभ तथा जटिल परिस्थितिमा पनि कसरी निर्णय लिने भन्ने अनुभव दिलाएर उनीहरूको आत्मविश्वास वृद्धि गर्छ ।

चिकित्सा शिक्षामा सिमुलेसनको प्रयोग आधुनिक अवधारणाअनुसार सन् १९३० तिरबाट व्यवस्थित रूपमा सुरु भएको मानिन्छ । यद्यपि यसको आधार प्राचीनकालमै देखिन्छ । भारतीय शल्यचिकित्सा शास्त्री सुश्रुतले आफ्ना विद्यार्थीलाई कमलको पात तथा जनावरको छालामा शल्यक्रियाको अभ्यास गराउने गरेको इतिहास उल्लेख गरिएको छ ।

त्यसैगरी सन् १९६८ मा विकसित कम्प्युटरद्वारा सञ्चालन हुने पूर्ण शरीरयुक्त मानव मेनिक्विनले चिकित्सा शिक्षामा नयाँ युगको सुरुवात गर्‍यो । त्यसपछि सीपीआर अभ्यासका लागि विशेष मोडेल तथा नर्सिङ शिक्षाका लागि विभिन्न प्रकारका मेनिक्विन र भर्चुअल सिमुलेसन प्रणाली विकास हुँदै आएका छन् ।

नर्सिङ शिक्षामा सिमुलेसन विशेष रूपमा प्रभावकारी मानिन्छ । आधारभूत बिरामी हेरचाह, ड्रेसिङ, इन्जेक्सन, बिरामीको पोजिसन परिवर्तनदेखि आकस्मिक उपचार व्यवस्थापनसम्मका सीपहरू मेनिक्विन तथा वास्तविक अवस्थाको अनुकरणमार्फत सिकाइन्छ । आधुनिक सिमुलेसनमा मेसिन मात्र नभई विद्यार्थी स्वयम् लाई विभिन्न भूमिकामा प्रस्तुत गराएर पनि यथार्थपरक सिकाइ गराउने अभ्यास बढ्दै गएको छ ।

नेपाल मेडिकल कलेजले यस्ता व्यवहारिक तथा विद्यार्थी–केन्द्रित शिक्षण कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यका दक्ष, जिम्मेवार र आत्मविश्वासी स्वास्थ्यकर्मी उत्पादन गर्ने लक्ष्यका साथ सिमुलेसनमा आधारित शिक्षणलाई थप विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.