बागलुङ । बागलुङ नगरपालिका–१२ बलेवास्थित ऐतिहासिक बलेवा भैरवस्थान मन्दिर परिसरमा यस वर्षको हरेलो मेला सञ्चालन हुने भएको छ।
भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा तथा बागलुङ नगरपालिकाको मुख्य सहयोगमा मेला आयोजना गर्न लागिएको हो। २०८३ भदौ २ गते मन्दिर परिसरमा सञ्चालन हुने मेलामा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा स्थानीय सांस्कृतिक प्रस्तुति तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा श्याम राना, कृष्ण अखेली, सीता परियार, नकुल ढकाल ‘नविन’, सुदिप क्षेत्री, शिवजी परियार र सीता धिमिरे लगायत कलाकारहरूको प्रस्तुति रहने ब्यानरमा उल्लेख छ।
मेलामा प्रमुख अतिथिका रूपमा नेपाल मगर संघका महासचिव तथा निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल र विशिष्ट अतिथिका रूपमा पूर्व स्वास्थ्य मन्त्री माननीय कृष्णप्रसाद पाठक सहभागी हुने आयोजकले जनाएको छ।
हरेलो मेलाले बलेवा भैरवस्थानको धार्मिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले धार्मिक आस्था, संस्कृति र मनोरञ्जनको संगमका रूपमा मेलामा सहभागी हुन स्थानीयवासी तथा भक्तजनलाई आग्रह गरेको छ।
मेला : २०८३ भदौ २ गते
स्थान : भैरवस्थान मन्दिर परिसर, बलेवा–१२, बागलुङ
समय : बिहान १० बजेदेखि