
मङ्लबार, जेष्ठ ६, २०७७ धौलागिरी अनलाइन
काठमाडौँ, ६ जेठ ।
अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोरोना भाइरस, कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
हाल लाई एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताउनुभयो ।
“सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ” उहाँले भन्नुभयो, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रूपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।
यसैगरी मन्त्रालयले काठमाडौँका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले परीक्षणको दायरा बढाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार कालिमाटीमा गरिएको ७०० आरडीटी परीक्षणमा तीन जनाको पोजेटिभ रहेको बताउनुभयो ।
यसैगरी सरसफाई गर्ने कर्मचारी ६६४ जनामा गरिएको आरडीटी परीक्षणमा ३१ जना पोजेटिभ देखिएको छ । गोंगबु क्षेत्रमा ४२० जनामा आरडीटी गरिएकोमा १५ जनाको पोजेटिभ, भृकुटीमण्डप क्षेत्रमा ४५२ जनामध्ये ३२ जनामा पोजेटिभ देखिएको छ । उहाँका अनुसार अहिलेसम्म काठमाडौँका विभिन्न स्थानमा दुई हजार २३६ आरडीटी र एक हजार १९ जनामा पिसिआर गरिएको छ ।