
२०७९ चैत १७ शुक्रबार
बागलुङमा शुक्रबार देखि बागलुङ नगरपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालको संयोजनमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादन लाई सहज बनाउनका तालिम संचालन गरिएको हो । उक्त तालिममा नगरका १४ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।

तालिममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्दै स्थानिय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पिडित भएका नागरिक लाई सहजरुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने जोड दिनुभयो ।
कार्यक्रममा नवआगन्तुक सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बराल, जिल्ला अदालतका श्रेस्तेदार सुर्य भण्डारी र जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम को उद्घाटन समारोह मा बागलुङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काको अध्यक्षता, वडा नम्वर ११ का अध्यक्षता तथा न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतमको स्वागत र नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका अन्र्तगतका ८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भईसकेको र अब ६ वटा केन्द्रमा स्थापना गर्ने तयारी रहेको बागलुङ नगरपालिकाले जनाएको छ । ८ दिनसम्म संचालन हुने तालिममा बागलुङ नगरपालिका अन्र्तगतका २५ जनाले सहभागिता जनाएका छन् ।
तालिमको सहजिकरण अधिवक्ता ममता देबी शर्मा र अधिकारकर्मी गिता श्रीस लगायतले गर्ने जनाएको छ । मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् । वार्डका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको हो ।